पशुपतिनाथलाई संकीर्ण राजनीतिक स्वार्थका निम्ति उपयोग गरियो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले पशुपतिनाथलाई राजनीतिक स्वार्थका लागि उपयोग गरिएको बताएका छन् ।
नेकपा केन्द्रीय संघर्ष समितिको चौथो चरणको आन्दोलन घोषणा कार्यक्रममा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले आफ्ना नेताहरुको प्रस्तुतिलाई गलत ढंगले तोडमोड गरेर धर्म र पशुपतिनाथलाई संकीर्ण राजनीतिक स्वार्थका निम्ति उपयोग गरिएको बताएका हुन् ।
पशुपतिनाथ विश्वभरीका हिन्दुहरुको आराध्यदेव र आस्थाको केन्द्र भएकाले आफूहरुले सम्मान गर्ने उनको भनाइ छ । यस्तो संवेदनशील पक्षलाई निकृष्ट, तुच्छ स्वार्थका निम्ति दुरुपयोग नगर्न पनि उनले सम्बन्धित पक्षलाई अनुरोध गरेका छन् ।