माइतीघर मण्डलमा प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक खबरदारी
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक खबरदारी गरिएको छ ।शुक्रबार माइतीघरमा प्रजातान्त्रिक विचार समाजको आयोजनामा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नागरिक खबरदारी गरिएको हो । ‘
विधिको शासन कायम गर’, ‘मानवअधिकारको रक्षा गर’, ‘हत्या, हिंसा बन्द गर’, ‘प्रेस स्वतन्त्रता सुनिश्चित गर’, ‘प्राज्ञिक स्वतन्त्रता कायम गर’लगायत नारा लेखिएका प्लेकार्डसहित सहभागीहरुले संसद् विघटनको विरोध गरे ।
नागरिक खबरदारी कार्यक्रममा बोल्दै डा. गोविन्द केसीले नागरिकले रगत र पसिना बगाएर ल्याएको प्रजातन्त्रको मूल, मर्म, स्वतन्त्रता र नागरिक अधिकार सरकारले खोसेको बताए । उनले आफ्नो घृणित स्वार्थका लागि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरी संविधान र प्रजातन्त्रको हत्या गरेको आरोप लगाए ।
प्रजातान्त्रिक विचार समाजका अध्यक्ष केदारनरसिंह केसीले सरकारको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदमका विरुद्ध सबै बुद्धिजीवीहरु एकैठाउँमा आउनुपर्ने बताए ।