गोंगबुमा बिहानै ट्याक्सी जलाइयो, चोकचोकमा प्रहरी परिचालन
काठमाडौं । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले घोषणा गरेको आम हड्तालको बिहानै काठमाडौं गोंगबुमा ट्याक्सी जलाइएको छ।
अज्ञात समुहले प्रदेश ३-०१-००२ ज- ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका हुन्। गोंगबुको टाउन पछाडि रोकेर राखेको ट्याक्सी जलाइएको हो। ट्याक्सीमा क्षति पुगेको छ,महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताएका छन्।बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधि तोडफोडलाई रोक्न राजधानीका चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले बन्द गराउँदै हिडेका ५६ जनालाई पनि नियन्त्रणमा लिएको छ।