काँग्रेस केन्द्रीय समिति बैठकका यी सात निर्णय


काँग्रेसको मंगलबार बसेको केन्द्रीय समिति बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको कदमको विरोधमा थप आन्दोलन गर्नेसहितका ७ बुँदे निर्णय बैठकले गरेको हो ।
बैठकका निर्णय
समसामयिक प्रस्ताव
१ संसद विघटन विरुद्ध माघ १२ गते राजधानीमा समाजको विभिन्न क्षेत्रका नागरिकहरुले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरेको घटनालाई बैठकले गम्भीरतापूर्वक लिएको
छ । असंवैधानिक कदम विरुद्धका प्रदर्शनहरु संविधानले प्रदान गरेको अधिकार हो । शान्तिपूर्ण ढंगले गरिएको प्रदर्शनमा लाठी चार्ज, अश्रुग्याँस तथा पानीको फोहरा प्रहार हुँदा घाइते भएका सबै आन्दोलनकारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यो बैठक सरकारले गरेको बल प्रयोगको घटनाप्रति निन्दा र भत्र्सना गर्दछ ।
२ प्रधानमन्त्री के.पी. शर्मा ओलीले पछिल्लो समय सार्वजनिक रुपमा व्यक्त गरिरहनु भएका अभिव्यक्तिहरुप्रति यो बैठकको ध्यानाकर्षण भएको छ । संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् भन्ने उहाँको अभिव्यक्ति अत्यन्तै अनुचित र अलोकतान्त्रिक छ । सम्मानीत सर्वोच्च अदालतमा जारी बहसलाई तमासाको संज्ञा, वरिष्ठ अधिवक्ताको अपमान, आलोचक पत्रकारहरुप्रति अशोभनीय टिप्पणी अनि आफूसँग अहसमत सबैथरी प्रति उहाँको तिक्त टिप्पणीले प्रधानमन्त्री पदको गरिमा राख्न उहाँ असफल भएको यो बैठकको निष्कर्ष छ ।

३ संसारको दोस्रो अग्लो हिमाल ‘के टु’ को सफल आरोहण गर्ने आरोही निर्मल पुर्जा सहित दश नेपाली युवालाई यो बैठक उच्च सम्मान सहित विशेष बधाई ज्ञापन गर्दछ ।विरोध प्रदर्शनका थप कार्यक्रम
के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध नेपाली कांग्रेसले २०७७ पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रहरुमा, पुस २५ गते ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा, माघ ३ गते ७५३ पालिकाहरुमा र माघ ८ गते ६,७४३ वडाहरुमा विरोध प्रदर्शन र सभा व्यापक सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएका छन् ।

४ देशव्यापी रूपमा भएका शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको भावना अभिव्यक्त गरेको
छ । विरोध प्रदर्शन र विरोध सभाका कार्यक्रमलाई निरन्तरताका क्रममा निम्नानुसारको थप कार्यक्रम घोषणा गरिएको छ

  • २०७७ माघ १९ गते सोमबार
    भ्रातृ संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने ।
    -२०७७ माघ २४ गते शनिबार
    शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लाहरुमा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने ।
  • २०७७ फागुन ३ गते सोमबार
    नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र सभाको आयोजना गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *