मुलुकको राजनीतिक अवस्थाको समीक्षा गर्ने बेला आएको छ
काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको राजनीतिक अवस्थाको समीक्षा गर्ने बेला आएको बताएका छन् ।
पूर्वराजा शाहले अहिलेको राजनीति इमानदारी र जनहितमा आधारित नभएको पनि बताएका छन्। बरु, आफूले राजगद्दी त्यागेर उच्च साहस र इमानदारी दर्शाएको उनको भनाइ छ।पृथ्वीजयन्तीको अवसरमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिले मुलुकले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्रकेन्द्रित छ, कति जनहितअनुकूल छ त्यसको समीक्षा हुन अब विलम्ब भइसकेको छ ।’
परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप देशमा भित्रिएको उनको आरोप छ। राजनीति भन्नु नै देशसेवाको उच्चतम साधन रहेको उनले उल्लेख गरेका छन्।