सेयर बजार बढेसँगै संसदसम्म चासो, के अहिलेको बढाई अप्राकृतिक र सिण्डिकेट नै हो त ?


पछिल्लो समय लगातार सेयर बजार बढेसँगै विभिन्न विषयगत समितिदेखि संसदसम्म यसलाई नियमन गर्नुपर्ने विषयमा प्रश्न उठेको छ । अघिल्लो हप्ता बजारलाई नै प्रभाव पार्नेगरी कारोबार समयमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह र नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा प्रकाशशरण महतले सेयर बजारमा सिण्डिकेट र कार्टेलिङमा अनावश्यक रुपमा बढेको भन्दै सो विषयमा छानविन गर्नुपर्ने माग अघि सारेका थिए । सोपश्चात बजारमा ठूलो अंकको गिरावट आएको थियो ।यसैगरी गत हप्ता त्यसैलाई आधार मानेर अर्थ समितिले पनि कारोबार समयमै अहिलेको बढ्दो सेयर बजारप्रति चासो देखाउँदै छलफल राखेको थियो । सो दिनपनि बजार रुमलिन पुग्यो

उक्त छलफलमा सांसद मेटमणि चौधरीले केही कम्पनीको नामनै तोकेर अहिलेको बजारमा कार्टेलिङ र सिण्डिकेट भैरहेको भन्दै सो विषयमा छानविन गर्नुपर्ने माग राखेका थिए । पछिल्लो समय कतिपय कम्पनीका अस्वभाविक रुपमा वृद्धि भएको र सीमित व्यक्तिले त्यस्ता कम्पनीलाई दैनिक रुपमा नेगेटिभ र पोजेटिभ सर्किट लगाउँदा लगानीकर्ता फस्ने भन्दै सो विषयलाई छानविनको दायरामा ल्याउनुपर्ने उनीहरुको माग थियो ।

विशेषगरी टीएमएस प्रणालीमा रहेको ‘एमकेटी’ अप्सनका कारण अहिले लगानीकर्ता झुक्किने गरेको र त्यसरी सेयर खरिदगर्दा फस्ने गरेका कारण त्यसलाई रोक्नुपर्ने सांसदहरुको धारणा थियो । ‘पछिल्लो समय बजारमा केही खेलाडीहरुले ‘एमकेटी’ अप्सनलाई प्रयोग गरेर आफ्नो स्वार्थअनुरुप दिनभर बजार बढाउने वा घटाउने अनि अन्तिम समयमा आएर सोही अप्सनलाई प्रयोग गरेर लगानीकर्ता फसाउने काम गरे,’ एक सांसदले भने, ‘बजारलाई आफ्नो गतिमा चल्न दिनुपर्छ दैनिकजसो अन्तिम समयमा २० प्रतिशतको तलमाथि गरेर जुवा घर बनाइनु हुँदैन ।’यसैगरी अर्थ समितिले पनि पुँजी बजार संवेदनशील क्षेत्र भएको र आम लगानीकर्ताको आर्थिक पक्षसँग सरोकार राख्ने हुनाले बजारलाई प्राकृतिक लयमा चल्ने वातावरण तयार गर्न सबै सरोकारवालाको ध्यानाकर्षण गराउँदै त्यसलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । साथै समितिले पनि घुमाउँदो तरिकाले अहिलेको बढ्दो बजारलाई अप्राकृति बढाईको संज्ञा दिँदै लगानीकर्ता फस्न सक्ने निष्कर्ष निकालेको छ । तर प्राकृतिक रुपको बजार बढाई कस्तो हो भन्ने उत्तर चाहिँ कोहीसँग पनि छैन । पछिल्लो समय केही कम्पनीमा देखिएको अस्वभाविक उतार बढावले भने लगानीकर्तालाई फसाउने काम भैरहेको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।

लामो समय गिरावट आएर लगानीकर्ता आत्महत्या गर्ने अवस्थामा पुग्दासमेत सेयर बजारलाई सुधार गर्ने वा बढाउने विषयमा कसैले पनि चासो दिएनन् । तर, पछिल्लो समय बजार दैनिक रुपमा बढेसँगै त्यसलाई रोक्नका लागि सांसद, संसदको विषयगत समिति देखि धेरै स्वार्थ समूहहरु सल्बलाउन थालेका सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् । अहिले कतिपय सांसदहरु नै अहिलेको सेयर बजार गलत ढंगले बढेको भन्दै त्यसलाई रोक्न मिडियादेखि सदनसम्म आवाज उठाइरहेका छन् भने सरकार संचालकहरु भने जसरी भए पनि बजार बढ्नुपर्ने अभिव्यक्ति दिँदै आएका छन् । पछिल्लो समय देखिएको दोहोरो अभिव्यक्तिका कारण लागानीकर्ताहरु अन्यौलमा पर्ने र त्यसले बजारलाई असर पुर्याउने देखिन्छ ।

पछिल्लो समय अर्थ समितिका प्रतिनिधित्व गर्ने सांसद मेटमणि चौधरीले पनि सेयर बजारका विषयमा नकारात्मक टिप्पणी गर्दै आएका छन् । तर, अर्थ समितिको यहिँ साउन २४ गते बसेको बैंठकले उनैलाई सेयर बजारसम्बन्धी प्राप्त उजुरीका विषयमा गठित छानविन समितिको सदस्यमा मनोनित गरेको छ । जसका कारण आगामी दिनमा अर्थ समितिबाटै सेयर बजारका विषयमा धेरै धक्का पुग्ने देखिएको छ । गत हप्ता बसेको अर्थ समितिको बैंठकले अहिले सेयर बजार अस्वभाविक रुपमा बढेको भन्दै धितोपत्र बोर्डलाई छानविनका लागि निर्देशन दिने तयारी गरेको थियो । तर सो विषयमा लगानीकर्ताहरु सामाजिक संजालदेखि सम्बद्ध सांसदहरुलाई फोन नै गरेर धम्क्याएपछि समिति त्यसबाट पछि हटेको थियो ।

तर, सांसद अमरेशकुमार सिंहले अहिले पनि खुलेआम बजारको बढाई अप्राकृतिक र सिण्डिकेटबाट चलेको भन्दै त्यसलाई रोक्न जस्तोसुकै परिस्थितिमा आवाज उठाउने बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *