सहकारी प्रकरणमा रवि र गगन आमने सामने,दिए एकअर्कालाई चुनौती


शुक्रबारको संसद् बैठकका क्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच दोहोरी चलेको छ ।

बर्खे अधिवेशनको पहिलो दिनको पहिलो बैठकको सुरुमै महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देही र सरकारी वकिल कार्यालयमा पर्याप्त प्रमाण रहेको भन्दै संसदीय छानबिन समिति बनाउनै पर्ने बताएका थिए ।

लामिछानेले सहकारी ठगी गरेको प्रमाण रुपेन्द्रेही प्रहरीले जिल्ला अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको कुरा थापाले संसद्‍मा सुनाएका थिए ।

‘रुपन्देही प्रहरीले गरेको अनुसन्धानबाट प्रमाण भेटिएका छन् । सरकारी वकिलको कार्यालयले अघि बढाएको अभियोग पत्रमा पनि रविको नाम छ । अदालतमा गृहमन्त्री सहकारी प्रकरणमा जोडिका प्रमाण पेश भएका छन्’, थापाले भने, ‘आफैंले माग फाराम भरेर सहकारीबाट लिएको ऋणको प्रमाण पेस गरौँ? १ अर्ब रुपैयाँ अपचलन गरेका प्रमाणहरू देखाऊँ? कति प्रमाण पेश गरौँ। मैले पेश गरेका प्रमाण गलत भएको सावित गर्न संसदीय छानबिन समिति चाहिएको छ । त्यसो गर्न पाए कति राम्रो हुन्थ्यो ।’

महामन्त्री थापाले संसद्‍बाट घेर्ने कोसिस गरेपछि उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले यदि आफूले सहकारीबाट ऋण लिएको कांग्रेसले प्रमाणित गरिदिए राजनीति नै छाड्ने चुनौती दिएका छन् ।

आफूले बुटवलस्थित सूर्यदर्शन सहकारी संस्थाबाट ऋण लिन निवेदन दिएको प्रमाण ल्याए राजनीति नै छाड्ने चुनौती महामन्त्री थापालाई दिएका हुन्।

थापाले शुक्रबारको संसद् बैठकमा रविले सहकारीबाट ऋण लिएको पर्याप्त प्रमाण रहेको दाबी गरेका थिए । यसको जवाफमा रास्वपा सभापति लामिछानेले सदनमा गगनको भनाइप्रति कडा आपत्ति जनाए । उनले यदि गगनले भनेजस्तै आफूविरूद्ध प्रमाण भेटिए राजनीति नै छाड्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *