बिजुलीको बिलमा ३२ लाख घोटाला गर्ने चारजना विरुद्ध अख्तियारको मुद्दा
बिजुलीको बिल तिर्दा घोटाला गर्ने नेपाल चिया विकास निगम लिमिटेडका सिनियर एकाउन्टेन्ट सञ्जय बिलोटिया सहित ४ जना विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ। उनीहरूलाई नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल भुक्तानी गर्दा वास्तविक मूल्यभन्दा बढी रकमको बिल विद्युत् प्राधिकरणबाट ल्याई रकम हिनामिना गरेको आरोप लगाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार अन्य आरोपीहरूमा नेपाल चिया विकास निगम लिमिटेड, बिर्तामोड, झापामा कार्यरत तत्कालीन लेखापाल मनिष कुमार कर्ण, तत्कालीन अफिस क्लर्क राजु भन्ने गुणराज श्रेष्ठ र नेपाल बिद्युत् प्राधिकरण, भद्रपुर वितरण केन्द्रका तत्कालीन लेखापाल वेदबहादुर राना रहेका छन् ।
उनीहरूको आपसी मिलेमतोमा नेपाल चिया विकास निगम लिमिटेड बिर्तामोड, झापाबाट आ.व. २०६९/०७० देखि २०७२/०७३ सम्मको विद्युत् महसुल तिर्दा विद्युत् प्राधिकरणबाट जारी वास्तविक बिल रकम जम्मा १ करोड ९३ लाख ६५ हजार ६ ५१ रुपैयाँ भुक्तानी गर्नुपर्नेमा वास्तविक भए गरेको भन्दा बढीको नक्कली बिल भरपाई पेश गरी गराई जम्मा २ करोड ३३ लाख ५५ हजार ३२९ रुपैयाँ रकम भुक्तानी लिने र लिन लगाउने काम गरेका थिए ।
यसरी नेपाल चिया विकास निगम लिमिटेडबाट जम्मा ३९ लाख ८९ हजार ६७७ रुपैयाँ बढी भुक्तानी लिई लिन लगाई निजहरू सञ्जय कुमार बिलोटिया, मनिष कुमार कर्ण, गुणराज श्रेष्ठ र वेद बहादुर राना मगरले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम हुन आउने बिगो र जरिवाना मध्ये ७ लाख ३७ हजार ३ सय आठ रुपैयाँ असुल भईसकेको देखिएको हुँदा उक्त रकम घटाई बाँकी ३२ लाख ५२ हजार ३६८ रुपैयाँ निजहरूबाट असुल उपर हुन मागदावी लिई अख्तियारले शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको हो ।