राखेपले उपलब्ध गरायो दशरथ रंगशालाको विवरण


त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिन एएफसीले माग गरेको विवरण राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई उपलब्ध गराएको छ ।

फिफा विश्वकप छनोट र एसियाली छनोटको खेल दशरंथ रंगशालामा सञ्चालन गर्ने सम्बन्धमा दशरथ रंगशालाको अवस्थाबारे एएफसीले प्रारम्भिक अनुगमनपश्चात माग गरेको विवरण राखेपले एन्फालाई दिएको हो । उक्त विवरण शुक्रबारै एन्फाले एएफसीमा पठाउने तयारी गरेको छ ।

एएफसीले एन्फालाई दुवै छनोट प्रतियोगिताका खेल खेलाउन दशरथ रंगशाला उपयुक्त हुने आधारसहित चार बुँदे विवरण माग गरेको थियो । एएफसीले एन्फालाई स्टेडियम सेफ्टी सर्टिफिकेट, इभाक्वुएसन प्लान, कोलर कोडेड फ्लोर प्लान डायग्राम र रिस्क एनालाइसिस स्पेसिफिक टू दि स्टेडियमका विषयमा जानकारी माग गरेको थियो ।

सो विषयमा एन्फाले राखेपलाई एएफसीमा पठाउन विवरण माग गरेकोमा राखेपले प्राविधिक परामर्शदाताको सहयोगमा अध्ययनपश्चात तयार पारेको सम्पूर्ण विवरण एन्फालाई दिएको हो । बिहीबार मात्रै संसदीय व्यवस्था समितिमा दशरथ रंगशालाको अवस्थाबारे प्रश्न उठ्दा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले यही हप्ताभित्र विवरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसको भोलिपल्ट नै राखेपले एन्फालाई विवरण दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *