‘डिग्री माइला’को दुई दिनको कमाइ तीन करोड
नयाँ वर्षलाई लक्षित गरी ल्याइएको फिल्म ‘डिग्री माइला’ले सुरुवाती दुई दिनमा सुखद व्यापार गरेको छ । वितरक गोविन्द शाहीका अनुसार यस फिल्मले शुक्रबार र शनिबार तीन करोड तीन लाखभन्दा बढी ‘ग्रस कलेक्सन’ गरेको छ ।
फिल्मले पहिलो दिन ९८ लाख र दोस्रो दिन दुई करोड आठ लाखको व्यापार गरेको वितरक शाहीले जनाए । तेस्रो दिन आइतबार पनि हलमा उच्च अकुपेन्सीका फिल्म चलिरहेको निर्माण पक्षको दाबी छ ।
निर्माता मणिराम पोखरेल भन्छन्, ‘तेस्रो दिन पनि हलमा दर्शकको अकुपेन्सी उच्च रहेको छ । दर्शकको माया सिनेमाले पाइरहेको छ । शो र वर्ड अफ माउथ दुवै राम्रो भएकाले व्यापार राम्रो भइरहेको छ ।’
रामबाबु गुरुङकै लेखन र निर्देशन रहेको यस फिल्ममा डिग्रीको अहमता देखाउने युवाको कथालाई रोचक ढंगले देखाइएको छ । फिल्ममा दयाहाङ राई र आचल शर्मा, बुद्धि तामाङ, विजय बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङलगायत कलाकारको मुख्य अभिनय छ ।बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको यस फिल्मका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । कार्यकारी निर्माता भने क्रिश लामा हुन् ।