‘बलिदान’को मुख्य भूमिकामा ऋचा शर्मा
निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’को मुख्य भूमिकाहरू मध्ये एक भूमिकामा अभिनेत्री ऋचा शर्माले अभिनय गर्ने भएकी छन् । चलचित्रमा काम गर्नको लागि शर्मासँग कागजी सम्झौता भएको चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले बताए ।
शर्माले निभाउने भूमिकाको विषयमा भने सेनले खुलाएका छैनन् । यद्यपि चलचित्रको प्रमुख भूमिका रहेको उनले बताए । आगामी वर्ष २०८१ मा रिलिज हुने ‘बलिदान’बाट प्रमुख अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्दै छन् । समीर नेपाली चलचित्रमा एक्सन हिरोको रूपमा प्रख्यात बिराज भट्टका छोरा हुन् । उनले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए ।
सन्तोषको मेगा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’को टिजर छायाङ्कन अगावै रिलिज भई व्यापक चर्चामा रहेको छ । सम्भवतः नेपाली चलचित्रको इतिहासमा नै पहिलो पटक प्री-प्रडक्शनमा रहँदा नै टिजर रिलिज भएको हो ।
देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताएका छन्। यो चलचित्रलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।