नेपाली कांग्रेसले संसद् अवरुद्ध पारेर अराजनीतिक काम गरिरहेको छ


नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद् अवरुद्ध पारेर अराजनीतिक काम गरिरहेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले सरकारबाट हट्नुपरेको पीडामा निहुँ खोजेर संसद् अवरुद्ध गरेको बताएका हुन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा बिहीबार ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतन्त्रमा राजनीतिलाई सबैको समृद्धि, खुसी र सम्मानसहितको राजनीतिक व्यवस्थाको रूपमा उपयोग गर्न पाउनुपर्ने बताए ।

अध्यक्ष ओलीले एमालेले सबै समुदायको सुरक्षा र सम्मानसहितको समृद्धि नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्न चाहेको पनि बताए ।

उनले भने, “डेमोक्रेसी किन चाहियो भन्दा यी कुराहरूमा लागि चाहियो । डेमोक्रेसी संसद्‌मा सरकारबाट हट्नुपर्‍यो भनेर निहुँ खोजेर संसद् अवरुद्ध गर्ने, च्याठिने, आक्रोश पोख्ने, विरह बिसाउने, छाती पिटेर रुने मात्रै ठाउँ होइन राजनीति । त्यसो भएर राजनीतिलाई एउटा माध्याम हो । त्यही संयमका साथ राजनीतिक कार्य हामीले गर्नु पर्दछ । समाजको उन्नति, प्रगति, समानता, शान्ति सुव्यवस्था, स्वच्छता, पारदर्शिता र समानताका लागि । सबैको सुरक्षा, सबैको सम्मान । यो कुरामा राजनीतिले ध्यान दिनुपर्दछ । त्यसकारण हामीले समृद्धि नेपालः सुखी नेपालीको प्यारामिटरमा अधिकार मात्रै होइन, सुरक्षा र सम्मान पनि जोडेका छौँ । किनभने असुरक्षा र असम्मानको स्थिति, अपमानको स्थितिबाट हाम्रो समाज गुज्रिएर आएको छ । त्यसकारण हामीलाई सुरक्षा र सम्मान चाहिन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *