‘सिड्नी ब्लुज’को ७० प्रतिशत छायांकन अस्ट्रेलियामा हुने
शंकर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सिड्नी ब्लुज’मा अभिनेता पुष्प खड्का पक्का भएका छन् । शुक्रबार निर्माण पक्ष र पुष्पले सम्झौता गरेका छन् ।
यो चलचित्रमा पुष्पसँगै अञ्जना बराइली, रवीन्द्र झा लगायतको प्रमुख भूमिका रहने छ । असार दोस्रो हप्तापछि छायांकनमा निस्कने निर्माण पक्षले जनाएको छ ।
‘सिड्नी ब्लुज’ देशको सम्भावनालाई बेवास्ता गरी बिदेसिएका युवाहरूको कथा आधारित फिल्म भएको निर्देशक कार्कीले खुलाएका छन् । उनी भन्छन्, ‘अस्ट्रेलिया बस्ने युवक जसको जीवन बाहिर देख्दा निकै सुन्दर तर यथार्थमा अन्धकार छ । सो युवकको कथा यो चलचित्र मार्फत भन्ने प्रयास गर्नेछु ।’
निर्माण पक्षका अनुसार फिल्मको छायांकन ७० प्रतिशत अस्ट्रेलिया र ३० प्रतिशत नेपालमा हुनेछ । चलचित्रमा चार भिन्न लुक्स र चुनौतीपूर्ण भूमिकामा अभिनय गर्नुपर्ने अभिनेता पुष्पले जानकारी दिए ।