काठमाडौंमा कवाडी व्यवसायीको विरोध प्रदर्शन
काठमाडौं उपत्यकाका कवाडी व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरूले कवाडी हटाउने आदेश भन्दै सातदेखि ३५ दिनको म्याद तोकेर पत्र पठाएसँगै व्यवसायीले प्रदर्शन गरेका हुन् ।
आइतबार उनीहरूले बुद्धनगरमा प्रदर्शन गरे । उनीहरूले न्युन आर्थिक अवस्थाका लाखौँ नागरिकको रोजीरोटी खोसिने भन्दै सो निर्णय फिर्ता लिन आग्रह गरे ।
सरकारले सरसफाइका निम्ति लगानी गर्नुको साटो आफूहरूले राज्यलाई तिरो तिरेर व्यवसाय चलाइरहँदा समेत विस्थापित बनाउन खोजिएको उनीहरूले आरोप लगाए ।
आइतबार उनीहरूको जुलुस शंखमूलदेखि त्रिपुरेश्वर, सुन्धारा हुँदै प्रदर्शनीमार्गमा पुगेर विरोधसभामा परिणत भएको थियो । उचित व्यवस्थापनबिना महानगरले कवाडी हटाउने निर्णय गरेको व्यवसायीको भनाइ छ । उक्त निर्णय फिर्ता नलिएसम्म आन्दोलन नरोक्ने उनीहरूको चेतावनी छ ।