माघमा १० करोड १० लाखभन्दा बढी कित्ता धितोपत्र सूचीकृत


माघ महिनामा धितोपत्र दोस्रो बजारमा १० करोड १० लाख ८६ हजार ७१० कित्ता धितोपत्र सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दिएको जानकारी अनुसार माघमा एक म्युचुअल फण्डको इकाई र चार कम्पनीको बोनस शेयर वापत उक्त संख्यामा धितोपत्र सूचीकृत भएको हो ।

नेप्सेका अनुसार माघ १६ गते एनआईसी एशिया ग्रोथ फण्ड–२ को ९ करोड ५ लाख इकाई सूचीकृत भएको छ । त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको १६ लाख ३३ हजार ९५ दशमलव ८६ कित्ता बोनस शेयर माघ २६ गते सूचीकृत भएको छ । माघ २६ गतेनै हिमालयन डिष्टिलरीको २४ लाख २९ हजार ५६६ दशमलव ६५ कित्ता र स्वाबलम्बन लघुवित्तको १५ लाख ९५ हजार ४५ कित्ता बोनस शेयर समेत सूचीकृत भएको छ ।

माघ २९ गते गरिमा विकास बैकले ४९ लाख २८ हजार ३०२ दशमलव ७१ कित्ता बोनस शेयर सूचीकृत गराएको छ । पछिल्लो समय सार्वजनिक निष्कासनको स्वीकृति प्रक्रियामा कमि आएसँगै धितोपत्र सूचीकरणमा समेत कमि आइरहेको छ ।

सार्वजनिक निष्कासनको स्वीकृति प्रक्रिया निरन्तर अघि बढ्दा धितोपत्र दोस्रो बजारमा धितोपत्रको आपूर्ति बढेको गुनासो आएसँगै बोर्डले स्वीकृति प्रक्रियालाई रोकेकै थियो । पुस २० गतेपछि भने बोर्डमा अध्यक्ष पद रित्त हुँदा स्वीकृति प्रक्रिया रोकिएको हो । बोर्डको अध्यक्षको कार्यकाल सकिएको करिब दुई महिना हुन लाग्दा समेत नयाँ अध्यक्ष नियुक्तीका लागि सिफारिस समिति गठन भएपछि त्यसपछिका प्रक्रिया अघि बढ्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *