रास्वपा कर्णालीका सबै कमिटी र विभाग विघटन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशका सबै कमिटी र विभाग विघटन गरेको छ। आइतबार साँझ बसेको पार्टी सचिवालयको बैठकले कर्णाली प्रदेशका कमिटीहरु विघटन गरेको हो।
कर्णाली प्रदेशका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गरी कर्णाली प्रदेशमा तीन महिने कर्णाली विशेष अभियान सञ्चालन गर्ने निर्णय गरिएको रास्वपाका महामन्त्री मुकुल ढकालले बताए।
अभियानमा संसद्मा कर्णालीका मुद्दाहरूलाई विशेष प्राथमिकताका साथ उठाउँदै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एवं कार्यक्रमहरूलाई व्यापक रूपमा अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिए।
बैठकले विभागमा उपप्रमुख र सदस्यहरू पनि मनोनित गरेको छ। रास्वपाले केन्द्रीय मानवीय विकास प्रवर्द्धन विभागको उपप्रमुखमा पवन देवकोटालाई मनोनित गरिएको जनाएको छ।
केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको सदस्यमा ज्ञानेन्द्र महतारा र केन्द्रीय विधेयक मन्थन विभागमा भोजराज क्वालिटीलाई सदस्य बनाइएको छ।
केन्द्रीय मानव अधिकार विभागको सदस्यमा गणेश पौडेल र केन्द्रीय संगठन विभागको सदस्यमा दीपक विश्वकर्मा थपिएको ढकालले जानकारी दिए।