लघुवित्तहरुको निष्क्रिय कर्जामा उल्लेखनिय वृद्वि
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबार राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।
उक्त प्रतिवेदनमा उल्लेख भएअनुसार लघुवित्त वित्तीय संस्थाहरुको संख्या मर्जर तथा एक्विजिसनका कारण घट्दो क्रममा रहेको देखिन्छ । २०७९ पुस मसान्तसम्ममा ६४ वटा लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा २०८० पुस मसान्तसम्ममा ५७ वटा कायम भएको छ । ५७ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये ३ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ५४ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु रहेका छन् ।
लघुवित्त वित्तीय संस्थाहरुको शाखा विस्तार पछिल्लो समयमा सुस्त गतिमा रहेको देखिन्छ । अघिल्लो आर्थिक बर्षको दोस्रो त्रयमासमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या ०.३४ प्रतिशतले वृद्वि भएकोमा यस आर्थिक बर्षको दोस्रो त्रयमासमा भने ०.०६ प्रतिशतले वृद्वि भएको देखिन्छ ।
समिक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको सदस्य संख्या ०.२२ प्रतिशतले घटेर ६० लाख ३ हजार पुगेको छ भने यस बैंकको निर्देशन बमोजिम एक संस्था एक ऋणीको व्यवस्था भएसँगै ऋणीको संख्या ८.३३ प्रतिशतले घटेर २७ लाख ३६ हजार पुगेको छ ।
निष्क्रिय कर्जामा उल्लेखनिय वृद्वि
२०८० पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा रकममा उल्लेखनिय वृद्वि भएको छ । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०८० असारको तुलनामा १०.३२ प्रतिशतले ह्रास भई २०८० पुस मसान्तमा रू. ५४ अर्ब ८ करोड पुगेको छ ।
समीक्षा अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा तथा सापटीमध्ये निष्कृय कर्जा रु. १ अर्ब २२ करोड अर्थात २.२५ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा निष्कृय कर्जाको अनुपात ०.७१ प्रतिशत रहेको थियो भने २०७९ पुस मसान्तमा यस्तो अनुपात ०.८७ प्रतिशत मात्र रहेको थियो । समीक्षा अवधिमा निष्क्रिय कर्जा १८५.६५ प्रतिशतले बढेको छ भने सक्रिय कर्जा ११.७१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा निष्क्रिय कर्जा १२१.०२ प्रतिशतले बढेको थियो भने सक्रिय कर्जा २.६९ प्रतिशतले बढेको थियो । २०८० पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक संस्थाहरुले पुनरतालिकिकरण गरेको कर्जा रकम रु २६ करोड रहेको छ ।
२०८० पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा रकममा वृद्वि भएको छ । खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०८० असारको तुलनामा ३.६६ प्रतिशतले बढेर २०८० पुस मसान्तमा रू.३ खर्ब ८५ अर्ब ५३ करोड पुगेको देखिन्छ ।
यसैगरी २०८० पुस मसान्तमा निष्क्रिय कर्जा रु.२८ अर्ब ८९ करोड अर्थात ७.४९ प्रतिशत रहेको छ । २०८० असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात ५.५२ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निष्क्रिय कर्जाको वृद्धिदर ४०.७८ प्रतिशत छ जुन गत आर्थिक वर्षको सोही अवधिमा ८२.६२ प्रतिशतले बढेको थियो । २०८० पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक संस्थाहरुले पुनरतालिकिकरण गरेको कर्जा रकम रु ४२ अर्ब १७ करोड रहेको छ ।
पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था बढेको छ । २०८० पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा ७.१६ प्रतिशतले बढेर रू. १ अर्ब ६८ करोड पुगेको छ । जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा ६७.८६ प्रतिशतले वृद्वि भई रु.७१ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रयमासमा कुल कर्जा नोक्सानी व्यवस्था रकम १६.८७ प्रतिशतले र निष्क्रिय कर्जा नोक्सानी व्यवस्था रकम ४४.७७ प्रतिशतले बढेको थियो ।
यसअवधिमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्थामा वृद्धि भएकोछ । २०८० पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा १९.३८ प्रतिशतले बढेर रू. २० अर्ब २२ करोड पुगेको छ । जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा ३२.८९ प्रतिशतले वृद्वि भई रु.१४ अर्ब १७ करोड पुगेकोछ । अघिल्लो आर्थिक वर्षको दोस्रोत्रयमासमा कुल कर्जा नोक्सानी व्यवस्था रकम ३५.६२ प्रतिशत र निष्क्रिय कर्जा नोक्सानी व्यवस्था रकम ७०.२२ प्रतिशतले बढेको थियो ।
खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको धितो कर्जा र लघु व्यवसाय कर्जाको अंशमा ह्रास आएको छ । २०८० पुस मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको धितो कर्जासँग कुल कर्जा तथा सापटको अनुपात १९.७९ प्रतिशत रहेको छ । यस्तो अनुपात २०८० असार मसान्तमा २०.४८ प्रतिशत रहेको थियो । लघु व्यवसाय कर्जाको अंश पनि २०८० असारमा ७२.०७ प्रतिशत रहेकोमा २०८० पुसमा ७१.५३ प्रतिशत पुगेको छ ।