चलचित्र विकास बोर्ड स्वायत्त हुनुपर्छ : भुवन केसी
कलाकार तथा चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले बोर्ड स्वायत्त नभएसम्म काम गर्न नसक्ने बताएका छन् । चलचित्र पत्रकार संघले आइतबार हेटौंडामा आयोजना गरेको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
साथै उनले चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउन कार्यविधि अगाडि बढाइएको पनि बताए ।
‘हाम्रोमा चलचित्र ऐन र यसभित्र समस्या छन्, बोर्ड आफैँमा स्वायत्त छैन’, उनले भने, ‘स्वायत्त नभएसम्म चलचित्र विकास बोर्डले धेरै काम गर्न सक्दैन । स्वायत्ततालाई प्राथमिकतामा राखेर नयाँ पाठ बनाएका छौं । भोलि या पर्सि यसलाई लिएर हामी मन्त्रालयमा जान्छौं ।’
उनले यो कार्यविधि पारित भए चलचित्र क्षेत्रसम्बन्धी धेरै उपलब्धिमूलक काम हुने दाबी समेत गरे । साथै उनले आफू चलचित्र विकास बोर्डमा गएपछि धेरै काम हुनुपर्ने भए पनि हुन काम हुन नसकेको स्वीकार गरे । यसको कारण ऐन भएको उनको तर्क थियो ।