यू-१९ विश्वकप : आज भारत र अस्ट्रेलियाको फाइनल भिडन्त
दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपको फाइनलमा आज भारत र अस्ट्रेलियाले फाइनल खेल्दैछन्। भारत आयोजक राष्ट्र दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पराजित गर्दै फाइनल पुगेको हो भने पाकिस्तानलाई पराजित गर्दै अस्ट्रेलियाले दोस्रो सेमिफाइनलबाट विश्वकपको फाइनल यात्रा तय गरेको हो।
भारत र अस्ट्रेलियाको हेड टु हेड
अहिलेसम्म यू-१९ मा भारतले अस्ट्रेलियालाई जितको लागि एउटा पनि मौका दिएको छैन। चार पटक भएको भेटमा सबै जित भारतले नै निकालेको छ। २०१८ मा भएको यू-१९ विश्वकपको समूह चरणको खेलमा अस्ट्रेलियामाथि भारत १०० रनले विजयी भएको थियो।
भारत र अस्ट्रेलियाको दोस्रो भेट २०१८ कै फेब्रुअरीमा यू-१९ विश्वपको फाइनलमा भयो। जहाँ भारत आठ विकेटले विजयी भयो। भारत र अस्ट्रेलियाको तेस्रो भेट भने २०२० को यू-१९ विश्वकपमै भयो। क्वाटर फाइनल खेलमा भारतले अस्ट्रेलियामाथि ७४ रनको जित निकालेको थियो। त्यसपछि भारत र अस्ट्रेलियाको अर्को भेट सन् २०२२ को विश्वकपकै सेमिफाइनलमा भयो। जहाँ अस्ट्रेलिया ९६ रनले पराजित भयो।
पाँचौ भेटलाई सुखद् बनाउने तयारीमा अस्ट्रेलिया छ। भारत भने अस्ट्रेलियामाथिको दबाबलाई निरन्तरता दिँदै विश्वकप जित्ने दाउमा छ। रोचक त के छ भने ओडिआई विश्वकपको फाइनलमा समेत भारत र अस्ट्रेलियाले खेलेका थिए।