दरबार हत्याकाण्डबारे प्रधानमन्त्रीले विचार नपुर्याई बोल्नुभयो
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बिहीबार जनकपुरमा समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
राजदरबार हत्याकाण्डबारे अनुसन्धान गर्ने विषय प्रधानमन्त्रीले विचार नपुर्याई भनेको उनले उल्लेख गरे । गम्भीर विषयमा बोल्दा गठबन्धनमा सहभागी दलहरू र आफूलाई सोधेको भए उचित हुने उनले बताए ।
तत्कालीन हत्याकाण्डका समयमा आफूलाई गिरिजाप्रसाद कोइरालाले समेत के गर्ने भनेर सोध्ने गरेको उनले सुनाए । उनले सरसल्लाहबिनै प्रधानमन्त्री प्रचण्डले छानबिन गर्ने कुरा गरेको भन्दै आपत्ति जनाए ।
दरबार हत्याकाण्डको केही समयपछि नेकपा (एमाले)का वर्तमान अध्यक्ष केपी शर्मा ओली गृहमन्त्री बनेका थिए । पछि ओली प्रधानमन्त्री पनि बनिसकेकाले केही बढी जानकारी हुन सक्ने भन्दै उनीसँग बुझ्ने नेता नेपालले बताए ।