६ महिनामा ३९ हजारलाई मापसे कारबाही,चार करोड राजस्व संकलन


नेपाल प्रहरीले गत ६ महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार जना चालकलाई कारबाही गरेको छ । सोही अवधिमा लागु पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने दुई सय ४२ चालक पनि कारबाहीमा परेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले मापसेविरुद्धको कारबाहीबाट चार करोड रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए । यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्‍याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे जाँचलाई प्राथमिकता दिँदै आइएको उनले बताए ।

लामो दूरीको यात्राका क्रममा मापसे गरी सवारी साधन चलाउने प्रवृत्तिले आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्यांकले देखाएको छ । सीसीटीभीको पहुँच न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो रहेको प्रहरीको निष्कर्ष छ । त्यस्तो प्रवृत्तिलाई निरूत्साहित गर्दै मापसे र लापसे नियन्त्रणलाई प्रभावकारी बनाउन प्रहरीले विभिन्न समयमा विविध नीति लागु गरी कार्यान्वयन गर्दै आएको छ ।

“दुर्घटनाबाट आफ्नो र यात्रुको ज्यान बचाउनका लागि प्रत्येक चालकले सही अवस्थामा सवारी साधन चलाउनुपर्छ । यो कुरालाई स्थानीयस्तरमा सबै नागरिकले बुझ्न र पालना गर्न आवश्यक छ,” प्रहरीका केन्द्रीय प्रवक्ता ढकालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *