अहिलेको संघीय धर्मनिरपेक्ष गणतान्त्रिक ब्यवस्था असफल भइसक्यो
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको संघीय धर्मनिरपेक्ष गणतान्त्रिक ब्यवस्था असफल भएको भन्दै ब्यवस्था परिवर्तनको लागि जनआन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।
महोत्तरीको बर्दिबासमा पार्टीद्वारा आयोजित मधेस प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै थापाले जनताले अहिलेको भ्रष्टतन्त्र र ब्यवस्था परिवर्तन गर्न चाहेको भन्दै अहिलेको लथालिङ्ग भताभुङ्ग अव्यवस्थाबाट मुक्ति चाहने हो भने आन्दोलनको विकल्प नभएको बताए ।
सनातन धर्मसंस्कृति पहिचान सङ्कटमा परेको, मुलुकको आर्थिक अवस्था कमजोर भएको, विदेशी चलखेल र प्रभाव बढेको भन्दै थापाले हिन्दु धर्म माथिको अपमान र थिचोमिचो सहन गर्न नसकिने बिचार व्यक्त गरे ।
धर्म परिवर्तनको डढेलोले सिङ्गो मुलुक आक्रान्त रहेको चर्चा गर्दै थापाले आन्दोलनको निमित्त सम्पूर्ण राष्ट्रबादी, प्रजातन्त्रबादी र देशभक्तहरू एक ठाउँमा आउनुपर्नेमा जोड दिए ।