एपीएफ र कोसी प्रदेशको लगातार तेस्रो जित
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कोसी प्रदेशले लगातार तेस्रो जित निकालेका छन् ।
आइतबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले लुम्बिनी प्रदेशविरुद्ध ९० रनको फराकिलो जित निकालेको हो । एपीएफले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ६१ रन मात्र बनायो ।
जितसँगै तीन खेलबाट ६ अंक जोडेको एपीएफ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट दुई अंकको लुम्बिनी छैटौँ स्थानमा छ ।
आइतबार नै भएको अर्को खेलमा कोसी प्रदेशले मधेस प्रदेशविरुद्ध ६० रनको जित दर्ता गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोसीले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याउने क्रममा मधेसले २० ओभरमा नौ विकेट गुमाएर ६९ रन मात्र बनाउन सक्यो ।