न्यायाधीश नियुक्तिमा नेपाल बार र महान्यायाधिवक्ताको असन्तुष्टि
महान्यायाधिवक्ता र नेपाल बार एसोसिएसनले न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि जाहेर गरेका छन् । महान्यायाधिवक्ता कार्यालयको ७३औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल र नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठकै अगाडि न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि जनाएका हुन् ।
प्रधानन्यायाधीश श्रेष्ठले भने आफू सबैलाई न्याय दिने जिम्मेवारीमा रहेको बताए । आफ्नो जिम्मेवारी राम्रोसँग थाहा भएको उनले जवाफ दिए ।
महान्यायाधिवक्ता पोखरेलले न्यायाधीश नियुक्तिमा महान्यायाधिवक्ता कार्यालयमाथि अन्याय भइरहेको गुनासो गरे । उनले सबैभन्दा धेरै संख्यामा र बढी अनुभवी भएको समूहबाट न्यायाधीश नियुक्तिमा कम मात्र पर्नु न्यायसंगत नभएको बताए ।
“न्यायाधीश नियुक्तिमा महान्यायाधिवक्ता कार्यालयको भावनात्मक होइन, तथ्यगत विमति र चित्त दुखाइ छ,” प्रधानन्यायाधीश श्रेष्ठतर्फ हेर्दै पोखरेलले भने, “सबैभन्दा धेरै र सबैभन्दा अनुभवीहरू हामीसँगै छन् । कुन तहको अनुभव भएका व्यक्तिहरू चाहियो हामी दिन सक्ने अवस्थामा छौँ ।” उनले आइतबारकै नियुक्तिमा पनि नपरेको भन्दै असन्तेष प्रकट गरेका थिए ।
नेपाल बारका अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्तिलाई सबै पक्षीय बनाउन उच्च न्याय सेवा, कानुन सेवा र बारबाट समन्यायिक नियुक्ति हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै असन्तुष्टि जनाए ।