‘दिमाग खराब’को प्रदर्शन मंगलबारसम्म नरोक्ने निर्णय
चलचित्र ‘दिमाग खराब’को प्रदर्शनलाई कम्तीमा आगामी मंगलबारसम्म निरन्तरता दिइने भएको छ । चलचित्रका निर्माता र नेपाल चलचित्र संघको कार्य समितिबीच आज भएको छलफल सकारात्मक भएकाले प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको जनाइएको छ ।
संघका महासचिव नरेन्द्र महर्जनले निर्माण पक्षसँगको वार्ता सकारात्मक रहेको जानकारी दिएका छन् ।
“आज मिति २०८० साल कार्तिक ३० गते बिहीबारका दिन नेपाली चलचित्र ‘दिमाग खराब’का निर्माताहरू र नेपाल चलचित्र संघको कार्य समितिबीचको छलफल सकारात्मक भएकाले आगामी मंसिर ५ गते मंगलबारका दिन पनि बाँकी अन्य बुँदाहरूमा छलफल गरी निष्कर्षमा पुग्ने सहमति अनुसार पूर्ववत् रूपमा चलचित्र ‘दिमाग खराब’को प्रदर्शन मंगलबारसम्म गर्ने निर्णय गरियो,” महर्जनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विभिन्न दुईवटा माग राखेर दिमाग खराबको टिमले बुधबार चलचित्रको प्रदर्शन रोक्ने निर्णय गरेको थियो । उनीहरूले दिनप्रतिदिन दर्शकहरू बढिरहँदा पनि हलहरूले शो नदिएको गुनासो गरेका थिए । अर्कोतिर चलचित्र निर्माता र हल सञ्चालकबीच हुने सेयर बाँडफाँटलाई लिएर पनि आफ्नो माग अघि सारेका छन् ।