जनताको चाहनाविपरीत सरकारले युद्ध दिवस मनाउने गल्ती नगरोस् : पौडेल
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद विष्णु पौडेलले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने सरकारको घोषणा कुनै दृष्टिकोणले सही नभएको बताएका छन् । हिंसा सुरु भएको दिनलाई दिवसका रूपमा मनाएर देशमा लोकतन्त्रको सबलीकरण हुन नसक्ने उनको धारणा छ ।
बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले हिम्मत भए संसद्मा ल्याएर बिदा दिने विषय पारित गरेर देखाउन सरकारलाई चुनौती दिए ।
“फागुन १ गते युद्ध दिवस मनाउन ठिक लाग्छ भने म सरकारलाई चुनौतीसाथ भन्छु– फागुन १ गते युद्ध दिवस मनाउनुपर्छ भन्ने प्रस्ताव सदनमा पेस गरोस्, अनि पास गरेर देखाओस्,” उनले भने, “यो निर्णयबाट पछि हटोस् । जनताको चाहनाविपरीत युद्ध दिवस मनाउने गल्ती नगरोस्, म चुनौती दिन चाहन्छु ।”
सांसद पौडेलले संसद्को चालु अधिवेशन प्रभावकारी नभएको टिप्पणी गरे । सदन प्रभावकारी हुन्छ भन्ने डर सरकारमा हाबी भएको उनको भनाइ थियो ।
“मेरो दाबी छ, संसद् प्रभावकारी हुन्छ कि भन्ने चिन्ता सरकारमा भयो । सांसदहरूले उठाएको आवाजको जवाफ सरकारले दिन चाहेन,” उनले भने । सांसदहरूले उठाएको आवाज सरकारले पूर्ण रूपमा निस्तेज गरेको उनले आरोप लगाए ।