शान्ति प्रक्रियाका बाँकी काम पीडित केन्द्रित भएर टुंगो लगाउनुपर्छ : ओली


प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई पीडित केन्द्रित भएर टुंगो लगाउनुपर्ने बताएका छन्। बुधबार चाडपर्वको अवसर पारेर पार्टीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीमाझ उनले पीडितलाई न्याय दिएर शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउनुपर्ने बताएका हुन्। अध्यक्ष ओलीले शान्ति प्रक्रियाका बाँकी काम दलहरुले सहमतिका साथ टुंग्याउनुपर्ने उल्लेख गरे। सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्को सुझावलाई शान्ति प्रक्रिया टुंगो लगाउँदा ध्यान दिनुपर्ने उनको भनाइ थियो। अध्यक्ष ओलीले शान्ति प्रक्रियाको टुंगो लगाउने काममा ढिलाइ भएको स्वीकार गर्दै अब ढिलाइ गर्न नहुने पनि बताए।

उनले भने, ‘शान्ति प्रक्रियाको बाँकि काम टुंग्याउनुपर्छ। एकदम राम्ररी टुंग्याउनुपर्दछ। सहमतिका साथ टुंग्याउनुपर्छ। र भिक्टिम सेन्ट्रिक भएर टुंग्याउनु पर्छ। सर्वोच्च अदालतको आदेशलाई पनि मानेर टुंग्याउनुपर्छ। अनि, अन्तर्राष्ट्रिय समूदाय, खासगरी विश्व मानव अधिकार काउन्सिलले हामीलाई केही कुराहरु भनेको छ। ती कुराहरुलाई पनि ध्यान दिनुपर्छ। र, खासगरी पीडितलाई न्याय दिएर पीडित केन्द्रित भएर यो समस्या समाधान गर्नुपर्छ। हामीले यो भन्दा पहिले नै टुंगाई सक्नु पर्दथ्यो। त्यसमा मिष्टेक भएको छ।’

त्यस अवसरमा अध्यक्ष ओलीले दशैं तिहार, छठसहितका पर्वको सबैमा शुभकामना पनि व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *