उषा रजकले अनुप बराललाई लगाइन् नेपोटिजमको आरोप
अभिनेत्री उषा रजकले अभिनेता तथा नाटकका गुरु अनुप बरालले नेपाली फिल्ममा ‘नेपोटिजम चलाएको आरोप लगाएकी छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत् उनले भुषण दाहालले निर्देषण गरेको ‘कागबेनी’मा रातारात आफूलाई हटाएर बरालकी श्रीमती समेत रहेकी अभिनेत्री दीया मास्केलाई अनुबन्ध गराइएको आरोप लगाएकी छन्।
‘एक्टर स्टुडिओ’की पहिलो ब्याचकी विद्यार्थी रजकले राम्रो भूमिका र पटकथा आउँदा बरालले सबै मुख्य पात्रमा मास्केलाई अनुबन्धित गराउने गरेको आरोप लगाएकी छन्। अहिले पनि त्यही अवस्था कायमै रहेको उनको भनाइ छ।‘त्यो फिल्म (कागबेनी) मा निर्देशक टिमबाट मुख्य पात्रमा म कास्ट भएकी थिएँ रे! (यो कुरा फिल्मको २ प्रमुख पात्रले भन्नु भएको मलाई) तर रातारात म आउट र दीया मास्के इन हुनुभयो। त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएकी थिएँ,’ उनले भनेकी छन्, ‘त्यो दिन मैले एक गुरुको अर्कै रुप देखेकी थिएँ, मैले जीवनको एक कालो पाटो देखेँ।’
यद्यपि, उक्त आरोप निर्देशक दाहालले नस्वीकारेको र आफूसँग कुनै प्रमाण पनि नभएको उनले स्वीकारेकी छन्। उनले भनेकी छन्, ‘उहाँले अनुप सरको प्रेसरमा आएर कुरा मान्नु भयो। दाइको पहिलो फिल्म थियो, उहाँ नर्भस हुनुभयो होला, अनुप सरबाट फिल्म साकार पार्नुमा धेरै भर परेका थिए रे!’
अहिले पनि धेरै अडिसन एक्टर स्टुडियोबाट हुने गरेकोमा अहिले पनि त्यस्तै हुने गरेको आरोप उनको छ।