नेपथ्यको ‘मानवताका लागि सङ्गीत’ यात्रा अब क्यानाडामा
नेपथ्यले पहिलोपटक क्यानडाको संगीतयात्रा गर्ने भएको छ । निर्धारित तालिकाअनुसार अक्टोबर १ तारिखमा नेपथ्यले आफूलाई क्यालगरी सहरको ‘दी प्यालेस थिएटर’ मा उभ्याउनेछ । त्यसपछि अक्टोबर ४ तारिख, बुधबार ब्याण्डको प्रस्तुति भ्यानकुभर सहरको ‘दी भोग थिएटर’ मा हुनेछ । यी दुवै सहर क्यानडाको पश्चिमी भेगमा पर्छन् । यात्राको अन्तिम शो टोरन्टोका दर्शक माझ हुनेछ । अक्टोबर ८ तारिख ब्याण्ड टोरन्टोकै ‘म्यासी हल’मा प्रस्तुत हुनेछ ।
सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ । क्यानडा नेपथ्यको १७ औं गन्तव्य राष्ट्र हुनेछ ।
केही समययता नेपालीका निम्ति क्यानडा आप्रवासनको आकर्षक गन्तब्य बन्दै आएको छ । त्यसमा पनि विशेषगरी अध्ययनका लागि त्यसतर्फ जाने नेपाली विद्यार्थीहको संख्या बर्षेनि बढ्दो छ । बढ्दो जनसंख्यासँगै यहाँका नेपाली संघसंस्थाले आयोजना गर्ने विभिन्न खाले सांगीतिक कार्यक्रमहरुको संख्या पनि नियमित बन्दै गएको छ ।