सिनेमा टुरिजमका लागि मनाङमा फुटबल खेल्दै सेलिब्रिटी
सिनेमा टुरिजमका लागि सेलिब्रिटीहरूले हाई अल्टिच्युड ग्राउन्डमा फुटबल खेल्ने भएका छन् । वाइकस नेपाल र एन्ट फाउन्डेशनले सेलिब्रिटीहरूलाई मनाङको हाई अल्टिच्युडमा लगेर मैत्रिपूर्ण खेल खेलाउन लागेको हो ।
सिनेमा टुरिजम, हिमाली छायांकन स्थलको प्रचार, वातावरण पर्यावरण, क्लाइमेट चेन्जका पक्षलाई सकरात्मक रूपमा प्रचार गर्दै हिमाली जनावरहरूको संरक्षण लागि भन्दै मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको आयोजकले जनाएको छ ।
“स्थानीय जनताले हालसम्म मनाङमा गरेको प्रकृति संरक्षणलाई सम्मान गर्दै स्थानीय युवालाई हिउँ चितुवालगायत वन्यजन्तुहरूको संरक्षणमा अभिप्रेरित गर्ने, मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरबारेमा सूचित गर्ने हाम्रो उद्देश्य छ,” आयोजकले प्रेस नोटमा भनेको छ, “पर्यापर्यटन प्रवर्द्धनमा प्रोत्साहन गर्न यही भदौ २५ देखि २७ गतेसम्म मनाङको तिमाङ, पिसाङमा रहेको फुटबल मैदानमा सेलिब्रेटी टिमले अरु खेलाडीहरूसँग मैत्रीपूर्ण खेल खेल्नेछन् ।”
अभिनेता तथा एन्ट फाउन्डेशनका अध्यक्ष प्रशान्त ताम्राकारका अनुसार तीन दिनसम्म हुने खेलमा चार समूहबीच खेल हुनेछ । सेलिब्रिटीहरू राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकार, विभिन्न सौन्दर्य प्रतियोगिताका विजेताहरू टिममा रहनेछन् ।
सेलिब्रिटीहरूमा अभिनेता प्रशान्त ताम्राकार, आंचल शर्मा, त्रिचु राई, नरेन खड्का, आर्यन अधिकारी, जेम्स प्रधान, मिस्टर नेपाल समर्पण कार्की, मिस युनिभर्स नेपाल सोफिया भुजेललगायत रहनेछन् ।