देशका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने

देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । केही क्षेत्रमा भारी वर्षाको समेत सम्भावना रहेको छ । गएरातिदेखि नै केही जिल्लामा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज बिहान गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशको धेरै स्थाना, कोसी, वाग्मती र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
सिन्धुपाल्चोक, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङजा, पाल्पा, नवलपरासी, रूपन्देही, दाङ, बर्दिया, दार्चुलामा भारी वर्षा भएको हो । केही जिल्लामा अहिले पनि भारी वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागको केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।