निर्देशक रामबाबु गुरुङले फिल्म ‘डिग्री माइला’ बनाउँने
चर्चित फिल्म ‘कबड्डी’ शृंखलाका निर्देशक रामबाबु गुरुङको निर्देशनमा नयाँ फिल्म ‘डिग्री माइला एमए थर्ड क्लास’ बन्ने भएको छ।निर्देशक गुरुङले सोमबार फेसबुकमा एक पोस्टमार्फत् फिल्मको टाइटल घोषणा गरेका हुन्। फिल्ममा मुख्य भूमिका अभिनेता दयाहाङ राईको हुनेछ। दयाहाङबाहेक अन्य कलाकारहरू तय हुन बाँकी रहेको निर्देशक गुरुङले बताए। ‘दयासँगै हामीसँग रेगुलर काम गर्ने साथीहरू हुनुहुन्छ। त्यसबाहेक नयाँ कलाकार पनि चाहिएको छ। फाइनल भइसकेको छैन,’ उनले भने।बाँसुरी फिल्म्स्को निर्माणमा बन्ने यो फिल्म कमेडी विधामा आधारित रहनेछ। फिल्म आगामी २०८१ सालमा रिलिज गर्ने निर्देशक गुरुङले बताए। दसैं अगाडि नै छायाँकनमा जाने तयारी पनि निर्माण टिमले गरिरहेको छ। ‘दसैंअगाडि र मंसिर गरी दुई पटक जान्छौँ। अहिले भने कथामै काम भइरहेको छ,’ गुरुङले भने।