३४ जिल्लाका नदी तथा खोलामा आज बाढीको जोखिम


पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले आज बाढीको जोखिम रहेको छ । कोसी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना रहँदा ३४ जिल्लामा बाढीको जोखिम रहेको छ ।

इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, संखुवासभा, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुरका नदीमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नुवाकोट, रसुवा, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया भएर बहने नदी तथा खोलामा पनि जलस्तर बढ्ने पूर्वानुमान रहेको छ ।

कैलाली, कञ्चनपुर, जाजरकोट, दैलेख, डोटी, अछाम, दार्चुला र आसपास भई बहने केही स–साना नदी तथा खोलामा पनि बहाव बढ्नसक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।

आज देशका प्रमुख नदीहरूको बहाव सामान्य अवस्थामा रहने तर भोलिदेखि देशका अधिकांश नदीको जलस्तर उल्लेख्य बढ्ने पूर्वानुमान रहेको छ ।

आइतबार वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, भेरी र महाकाली नदी र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्नसक्ने पूर्वानुमान रहेको महाशाखाको भनाइ छ । त्यस्तै मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भएर बहने स–साना नदीहरूमा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *