टोकियोमा गुञ्जियो नेपथ्य ब्याण्ड
मंगलबार बेलुकी तोयोसु पिट हलमा सबैभन्दा पहिलो आवाज मादलको थियो–
‘घिनिनिनि तिनिनिनि तिनिनिनि घिनिनिनि’
यो पूर्वी नेपालबाट संकलित हाक्पारेमा आधारित एउटा गीतको ताल थियो।
त्यसको लगत्तै किबोर्ड, गितार र ड्रमसेटको उच्च आवाजकै बीच गायक अमृत गुरुङले गाउन सुरु गरे–
‘कोशीको पानी यो जिन्दगानी सललल जाइ जाने हौ हजुर
आमाको कोखमा बासमात्रै लिएँ नि कुन देशको मरन हौ हजुर’
यसरी स्वदेश सम्झाउने गीतको भाव र रक कन्सर्टको उच्च तरंगले जापानको राजधानीमा तीन हजारभन्दा बढी दर्शकमाझ प्रारम्भबाटै हलचल मच्चिएको थियो।
त्यो क्रमलाई ‘भेँडाको ऊनजस्तो’ले झनै तीव्रता दियो। त्यसपछि आफ्नो सर्वकालिक हिट गीत ‘छेक्यो छेक्यो’ गाउन्जेल ब्याण्डले माहोलमा पूर्णतया कब्जा जमाइसकेको देखिन्थ्यो।
त्यसपछि अमृतले एकैछिन दर्शकसँग संवाद गर्न चाहे।
‘यो तीन दशकभन्दा लामो यात्रामा तपाईंहरूको नेपथ्य ब्याण्डले धेरै अनुभव पनि बोकेको छ,’ उनले विगत सम्झँदै भने, ‘यो टोकियो भूमिमै हाम्रो समूहका साथीहरुबीच साँगीतिकदेखि लिएर मिलन विछोडसम्मका अनेक यादहरु छन्।’
यसरी ब्याण्डका पुराना सदस्यहरुलाई एकपटक सम्झेर भावुक भएपछि लगत्तै अमृतले नेपथ्यकै सबैभन्दा पहिलो गीत सुनाए–
‘आँगनैभरि हिउँ नै झरे, आरु फूल टिपि राखे है’
अमृतले यो गीत गाइरहँदा मञ्चको पृष्ठ भागमा नेपथ्यका स्थापनाकालीन दिनहरूको तस्बिर देखाइएको थियो।