ललिता निवास जग्गा प्रकरणमा चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी
ललिता निवास जग्गा हिनामिना प्रकरणमा नीतिगत निर्णयगरि सहयोग पुर्याएको आरोपमा चार जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले अनुसन्धान गरिरहेको यस प्रकरणमा पूर्व मन्त्री तथा सरकारका पदाधिकारीहरुमाथी पनि अनुसन्धान गर्न अदालतले बाटो खोले लगतै चार जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
पक्राउ पुर्जी जारी भएकाहरूमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री विजय गच्छदार, पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र पूर्व राज्यमन्त्री सञ्जयकुमार शाह रहेका छन् । प्रहरी स्रोतका अनुसार उनीहरुविरुद्ध जिल्ला अदालतले आइतबार नै जारी गरेको हो ।
यसअघि पनि ललित निवास प्रकरणको अनुसन्धान गर्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत गच्छदार, श्रेष्ठ र जोशीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । गच्छदार २०६७ सालमा भौतिक योजना मन्त्री रहेका बेला सरकारी लिखत किर्ते गरेर व्यक्तिको नाममा लैजान निर्णय गरेका थिए ।
त्यसबेला शाखा अधिकृत रहेका हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण राउत यसअघि नै पक्राउ परेर छुटिसकेका छन् । त्यस बेलाका सचिव दिप बस्न्यात, राज्यमन्त्री सञ्जयकुमार शाह र उपप्रधानमन्त्री समेत रहेका गच्छदारले मन्त्रीपरिषद्मा प्रस्ताव लगी जग्गा हिनामिनाका लागि नीतिगत निर्णय गरेका थिए ।
अहिले यो प्रकरणमा २० जना आरोपीहरू सिआइबीको हिरासतमा छन् ।