दोषीमाथि कारबाही र घाइतेको उपचार गर्ने गृहमन्त्रीको प्रतिबद्धता
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तामाङ र मगर समुदायको धर्नाका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनाको गम्भीर अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने र घाइतेको उचित उपचार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आज गृह मन्त्रालयमा तामाङ घेदुङ र मगर सङ्घका अध्यक्षसहितका प्रतिनिधिहरूको ज्ञापनपत्र बुझ्ने क्रममा गृहमन्त्री श्रेष्ठले सो प्रतिबद्धता जनाएका हुन् । विवादस्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डेलाई तत्काल कारबाही गर्न उजुरी दिए पनि समयमै सुनुवाइ नभएको भन्दै साउन १७ गते नेपाल तामाङ घेदुङ सङ्घीय समिति र नेपाल मगर सङ्घ केन्द्रीय समितिको ब्यानरमा काठमाडौँ प्रहरी परिसर टेकु अगाडि धर्ना दिइएको थियो ।सोही धर्नाका क्रममा झडप हुँदा केही घाइते भएका थिए । सोही दिन पक्राउ परेका अधिवक्ता पाण्डे केही घण्टामा जिल्ला अदालत काठमाडौँको आदेशले रिहा भएकी थिइन् । गृहमन्त्री श्रेष्ठलाई बुझाइएको ज्ञापनपत्रमा अधिवक्ता पाण्डेमाथि कारबाही, धर्ना र हिरासतमा राखिएका व्यक्तिलाई यातना दिने र दिन आदेश गर्ने प्रहरी अधिकारी तथा संलग्नमाथि कारबाही तथा पीडितलाई उचित क्षतिपूर्ति एवं उपचारको माग गरिएको छ ।