मुलुकका अधिकांश भागमा वर्षा हुने
देशका केही भू–भागमा आज भारी वर्षाको सम्भावना रहेको छ । केही क्षेत्रमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । वाग्मती गण्डकी प्रदेशका धेरै स्थान तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
काठमाडौंका केही भू–भागमा गएरातिदेखि भारी वर्षा भएको छ । काठमाडौंको विष्णुमती नदी गोंगबु जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
जलसतह सतर्कता तह नजिक पुगेकोले नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान अबेरसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।