आईपीओ निष्कासन गर्दै मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर


मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ । कम्पनीले यस अघि वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । कम्पनीले वैदेशिक रोजगारीमार रहेका नेपालीमा असार १९ गतेदेखि साउन २ गतेसम्म र आयोजना प्रभावित स्थानीयमा असार १९ गतेदेखि साउन ९ गतेसम्म आईपीओ विक्री गरेको थियो ।

स्थानीयमा कम्पनीले जारी पूँजी ८० करोड रूपैयाँको १० प्रतिशत दरको ८ लाख कित्ता आईपीओ जारी गरेको थियो ।  स्थानीयका लागि छुट्याएको शेयरमध्ये ६ लाख १६ हजार ६२० कित्ता आईपीओ भने वितरण हुन सकेको थिएन । स्थानीयमा वितरण हुन नसकेको उक्त शेयर समेत जोडेर सर्वसाधारणमा विक्री गर्न लागिएको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने २ लाख कित्ता आईपीओ बाँडफाँट गरिएको हो । यी वाहेक ४० हजार कित्ता आईपीओ कम्पनीका कर्मचारीहरूका लागि र १ लाख कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरीएको छ । सर्वसाधारणमा २२ लाख ७६ हजार ६२० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।

सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्कासन अवधि छिटोमा साउन ३१ गतेसम्म र ढिलोमा भदौ १० गतेसम्मका लागि तोकिएको छ । सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले यो आईपीओ समेत छिटो अवधि साउन ३१ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *