रास्वपामा पदाधिकारी, सदस्य वा प्रदेश विभाग प्रमुख हुन सम्बन्धित विषयमा स्नातकोत्तर हुनुपर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभागका पदाधिकारीका लागि विभिन्न मापदण्ड बनाएको छ । रास्वपाको केन्द्रीय समिति बैठकले केन्द्र, प्रदेश र स्थानीय तहका विभागमा रहने पदाधिकारी तथा सदस्यका लागि मापदण्ड बनाएको हो ।
अब रास्वपामा केन्द्रीय विभागमा पदाधिकारी, सदस्य वा प्रदेश विभाग प्रमुख हुन सम्बन्धित विषयमा स्नातकोत्तर (मास्टर्स) गरेको हुनुपर्ने छ । यस्तै, सम्बन्धित क्षेत्रमा १० वर्ष अनुभव वा असाधारण सफलता हासिल गरेको व्यक्ति हुनुपर्ने छ ।
यसैगरी प्रदेश विभाग पदाधिकारी, सदस्य वा पालिका विभाग प्रमुख हुन सम्बन्धित विषयमा स्नातक (ब्याच्लर्स) गरेको हुनुपर्ने छ । यस्तै, पाँच वर्षको अनुभव वा असाधारण सफलता हासिल गरेको व्यक्ति हुनुपर्ने छ ।
पालिका विभाग पदाधिकारी र सदस्य हुन १२ कक्षा पास भएको हुनुपर्ने छ । यस्तै, दुई वर्ष अनुभव भएको तथा असाधारण सफलता हासिल गरेको व्यक्ति हुनुपर्ने छ ।
अब प्रदेश समितिबाहिरबाट पनि विभागको प्रमुख ल्याउन सकिने छ ।