बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापको अक्षीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।आज (आइतबार) बिहानसम्म देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
महाशाखाका अनुसार आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।