थप १० ब्रोकर कम्पनीले पाए नेप्सेबाट आशयपत्र
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप १० नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र (एलओआई) प्रदान गरेको छ । नेप्सेको असार १५ गते बसेको सञ्चालक समितिको बैठले १० कम्पनीलाई आशयपत्र प्रदान गर्ने निर्णय गरेको हो ।
नेपाल धितोपत्र बोर्डबाट दोस्रो चरणमा आशयपत्र प्राप्त गरेका ११ कम्पनीहरूमध्ये १० कम्पनीलाई आशयपत्र प्रदान गरेको जानकारी नेप्सेका सुपरिवेक्षण प्रमुख गिरिराज दाहालले दिएका हुन् । उनका अनुसार आशय पत्र प्राप्त गर्ने थप १० कम्पनीहरूमा नबिल सेक्युरिटिज, मेगा स्टक मार्केट्स, एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्यूरिटिज, शुभकामना सेक्यूरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वल्र्ड शेयर एक्सचेन्ज, माछापुच्छ्रे सेक्युरिटिज र कलश स्टक मार्केट रहेका छन् ।
बोर्डबाट आशयपत्र प्राप्त गर्ने ११ कम्पनीमध्ये के.वि.एल सेक्यूरिटिज लिमिटेडले हालसम्म नेप्सेमा सदस्यताका लागि आवेदन नदिएकोसमेत दाहालले जानकारी दिएका छन् । यीसहित हालसम्म नेप्सेले १७ कम्पनीहरूलाई आशयपत्र प्रदान गरिसकेको छ ।
यसअघि नेप्सेले जेठ ८ गते सात कम्पनीहरूलाई आशयपत्र प्रदान गरिसकेको छ । यस अघि सन सेक्यूरिटिज प्रा.लि, गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेडले नेप्सेको आशयपत्र प्राप्त गरेका थिए । नेप्सेबाट आशयपत्र प्राप्त गरिसकेका कम्पनीहरूले प्राविधिक रूपमा तयारी पुरा गर्नुपर्ने भनाई दाहालको छ ।