कोसी, वाग्मती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेकोछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
आज राति कोसी, मधेस प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशसहित बाँकी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
देशका मध्य तथा पश्चिम तराईका भू-भागमा आज अत्याधिक गर्मी हुने सम्भावना रहेको विभागले जनाएको छ । अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ तथा वर्षाबाट हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।