वर्षाका कारण उपत्यकाको फोहाेर लैजान नरोकिने
अब वर्षाको सयममा काठमाडौं उपत्यकाको फोहाेर बञ्चरेडाँडास्थित फोहाेरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ । विगतमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहाेर लैजान समस्या हुने गरेको थियो ।
सरकारले केही समय पहिले द्रुत मार्ग (फास्ट ट्रयाक)बाट ठेक्का लगाएर फोहाेर लैजान प्रयोग हुने सडक निर्माण गरेको बालाजु–त्रिशूली–छहरे–बिदुर सडक योजनाले जनाएको छ । पहिलेको ठेक्का तोडिएपछि नयाँ ठेक्कामार्फत काम गर्दा बढी समय लाग्ने हुँदा ‘फास्ट ट्रयाक’ बाट ठेक्का लगाएर निर्माण गरिएको योजनाका इञ्जिनियर सागर भण्डारीले जानकारी दिए । उनले भने, “मन्त्रिपरिषद्ले निर्णय गर्नासाथ काम सुरु गरेर चार महिनाभित्रै सकाइएको हो ।”
सडक विभागले एक दशक पहिले बालाजु–रानीपौवा सडक निर्माणको जिम्मेवारी सैलुङ कन्स्ट्रक्सनलाई दिएको थियो । पटक–पटक अवधि थप हुँदासमेत सडक निर्माण नगरेकाले ठेक्का तोडिएको उनले बताए । इञ्जिनियर भण्डारीले भने, “असारमा ठेक्का तोडेर असोजमा नै नयाँ ठेक्काबाट निर्माण थालिएको हो ।”
पुरानो ठेक्का तोडेर तीनपिप्लेबाट मुड्खुसम्म नयाँ ठेक्का लगाएर काम सम्पन्न भएको योजनाले जनाएको छ । सो खण्डको सडक झन्डै साढे चार किमी लामो छ । गत असोज २६ देखि नयाँ ठेक्कामा गएकामा २८ गतेदेखि काम सुरु भएको उनले बताए ।