अर्थ समितिमा अर्थमन्त्री महत र रास्वपा सांसद श्रेष्ठबीच भनाभन

अर्थ समितिको शनिबारको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच भनाभन भएको छ।सांसद श्रेष्ठले बोल्ने क्रममा पुराना कुराहरु दोहोर्याएको भन्दै अर्थमन्त्रीले जिज्ञासामात्रै राख्नु भनेपछि दुईबीच भनाभन भएको हो।
समितिको बैठकमा बोल्ने क्रममा सांसद श्रेष्ठले डाँडाको टुप्पोमा भ्यूटावर भनेको कस्तो बेवकुफ भन्ने शब्द प्रयोग गरेपछि मन्त्री महतले पुराना कुरा भने पनि अर्थतन्त्र र बजेटको बारेमा जिज्ञासा राख्न आग्रह गरेका थिए।
सोही विषयलाई लिएर सांसद श्रेष्ठले साना कुराहरुमा आत्मनिर्भर बन्नुपर्ने बताए। मन्त्री महतले आफूले यस्ता विषयहरु बुझिसकेको भनेपछि पुनः सांसद श्रेष्ठले निजी क्षेत्रले सरकारलाई विश्वास गर्न नसकेको कुरा उठाए। उनले वित्तीय संस्थालाई नियमन कसरी गर्ने? र तीन खम्बे अर्थनीतिको कुरा गरेपछि पुनः मन्त्री महतले आफूले यस बारेमा बुझिसकेको प्रतिक्रिया दिए।
साथै मन्त्रीले आफूलाई ढिला भइसकेको भनेपछि सांसद श्रेष्ठले मन्त्री महतलाई हतार नगर्न आग्रह गरे। उनले मन्त्री महतले लामो जवाफ दिइरहेको र त्यसको कारण सांसदहरुले प्रश्न गर्न नभ्याएको बताए। लगत्तै सांसद श्रेष्ठले लाखौं रुपैयाँ खाएर सहकारी भागिरहेको, खर्बौं रुपैयाँ वित्तीय प्रणालीमा नरहेको भन्दै देशमा आर्थिक संकट नभए के लक्ष्मी भगवान आएर बस्छन्? भन्ने प्रश्न गरे। उनले फेरि मन्त्री महतलाई यो कुरा कहाँ ध्यानाकर्षण गराउने? भन्दै प्रश्न गरे। साथै हतार भयो भनेर नहुने भन्दै कि बैठक नै राख्नुनहुने बताए। उनले मन्त्री महतलाई हतार भए जानुहोस्, भन्दै असहमति प्रकट गरे।