अवैध रूपमा वैदेशिक रोजागारीमा गएकाहरूलाई वैधता दिने सरकारको तयारी
सरकारले अवैधानिक रूपबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली नागरिकहरूलाई एक पटकको लागि वैधता दिने तयारी थालेको छ ।
मंगलबार काठमाडौंमा आयोजित सम्मानपूर्ण श्रम र आप्रवासी महिला श्रमिकको अधिकार विषयक दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठी कार्यक्रममा रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अवैधानिक बाटो हुँदै नेपाली नागरिकहरू विभिन्न मुलुकमा पुगेको र एक पटकका लागि भने सरकारले वैधता दिने तयारी थालेको जानकारी दिएका हुन् ।
उनले वैदेशिक रोजागारीमा जाँदा पनि अवैधानिक बाटो हुँदै जाने श्रमिकहरू बढी शोषणमा परेको बताए । उनले अवैध रूपमा विदेश गएका नेपाली नागरिकहरूलाई एकपटकका लागि वैधता दिन सरकारले अभियानकै रूपमा काम थालेको बताए ।
“महिलाहरूको गन्तव्यमुलुकको चोरी बन्द भएको छ । तर महिलाहरू विभिन्न मुलुकमा पुगेका छन् । अनि शोषण भएको छ । बाहिर वैदेशिक रोजगारीमा गएका महिलाहरू सबैभन्दा ठूलो शोषण भनेको जब फरमल नभएर इन्फरमल तवरबाट वैदेशिक रोजगारीमा गएका छन्, सबैभन्दा पहिलो असुरक्षा त्यहाँबाट नै सुरु हुन्छ,” उनले भने ।