चितवन २: रवि लामिछानेले कटाए ४३ हजार मत,कसको मत कति ?

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा मतगणना जारी छ । यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जित निश्चित भइसकेको छ । गणना हुन बाँकीभन्दा उनी धेरै मतान्तरले अगाडि रहेकाले जित निश्चित भएको हो ।
निर्वाचन आयोगका अनुसार लामिछानेले हालसम्म ४३ हजार १०१ मत पाएका छन् । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले सात हजार ९५२ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार रामप्रसाद न्यौपानेले सात हजार ७८७ मत पाएका छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जीवलाल पुरीले २९९, मंगोल नेशनल अर्गनाइजेसनका टेकबहादुर तामाङले १७३, राष्ट्रिय जनमोर्चाका जनकराज शर्माले ८५, जय जन्मभूमि पार्टी नेपालका प्रेमबहादुर खड्काले ६६, नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारीले ५०, राष्ट्रिय नागरिक पार्टीका योगलाल श्रेष्ठले ३५, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका उमेदवार छत्रकुरमा पाख्रिनले ३२ मत पाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गएको आइतबार भएको मतदानमा यहाँ कुल ७८ हजार २७७ मत खसेको थियो । चितवन–२ मा २२ उमेदवार प्रतिस्पर्धामा छन् ।