‘पुरानोजति सडेगलेको र नयाँजति राम्रो’ भन्ने भ्रममा नपर्न थापाको आग्रह


सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोेचेर काम गर्नुपर्ने बेला आएको उनले बताए ।

शनिबार काठमाडौंमा कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको एक कार्यक्रममा उनले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्नेमा जोड दिए । सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ उनले सरकारलाई सचेत गराए । सरकारले राम्रो काम गर्दै गए तीन/चार महिनाभित्रै मुलुक सम्हालिँदै जाने उनको भनाइ थियो ।

महामन्त्री थापाले ०८० सालमा कांग्रेसलाई शुद्धीकरण र सुदृढीकरण गर्नका लागि सिंगो पार्टीपंक्ति लाग्नुपर्ने पनि बताए । आउँदो जेठ अन्तिम साता कांग्रेसको नीति अधिवेशन गर्ने तयारी भइरहेको उनले उल्लेख गरे । त्यसमा पार्टी शुद्धीकरण र सुदृढीकरणका लागि व्यापक छलफल गर्न पनि उनले नेता–कार्यकर्तालाई आग्रह गरे ।

‘पुरानोजति सडेगलेको र नयाँजति राम्रो’ भन्ने भ्रममा नपर्न पार्टीका नेता–कार्यकर्तालाई सचेत गराए । कुनै पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै उनले निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन गर्नुपर्नेमा समेत जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *