सानिमा र रिलायन्स लाईफको एकिकृत कारोबार चैत ९ गतेदेखि शुरु हुने


सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स चैत ९ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । गत असार २९ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूले मर्जर सम्झौता गरेको ९ महिनापछि एकिकृत कारोबार सुरु गर्न लागेका हुन ।

दुबै कम्पनीले गत फागुन १२ गते सम्पन्न वार्षिक साधारण सभाबाट मर्जर प्रस्ताव पारित गरेका थिए । नेपाल बीमा प्राधिकरणबाट फागुन १८ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट र फागुन २९ गते मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त भएसँगै यी कम्पनी एक हुन लागेका हुन ।दुई कम्पनी एक भई सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन । मर्जरपछि कम्पनीको प्रधान कार्यालय नयाँ वानेश्वर, काठमाडौंमा रहने कम्पनीहरूले जानकारी दिएका छन् ।

यी दुई कम्पनी एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा जान लागेका हुन । हाल सानिमा लाईफको चुक्तापूँजी रू. २ अर्ब र रिलायन्स लाईफको चुक्तापूँजी रू. २ अर्ब १० करोड रहेको छ । मर्जरपछि बन्ने कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १० करोड कायम हुनेछ । पूँजी बृद्धि अभियानका लागि कायम गरेको चुक्तापूँजीको व्यवस्था बमोजिम सानिमा रिलायन्स लाइफको चुक्तापूँजी रू. ५ अर्ब पुग्नुपर्नेछ ।अघिल्लो आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट यस वर्ष दुबै कम्पनीले शेयरधनीहरूलाई लाभांश वितरण गरेका छैनन् । दुबै कम्पनीको शेयर संरचना हाल संस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत रहेको छ ।

हाल कायम शेयर संरचना परिवर्तन गरी संस्थापक तर्फको १९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्ने कम्पनीले जानकारी दिएको छ । शेयर संरचना परिवर्तनको प्रस्ताव समेत कम्पनीहरूले वार्षिक साधारण सभाबाट पारित गराईसकेका छन् ।दुबै कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनी रहेकाले एकिकृत कारोबारको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का हुनेछ । मर्जर तथा प्राप्ति सम्बन्धि व्यवस्था बमोजिम एकिकृत कारोबार भएको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का गर्नुपर्ने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *