सरकारलाई पूर्णता दिन दलहरूबीच छलफल सुरु हुँदै
सरकारलाई पूर्णता दिन आजदेखि दलहरूले छलफल सुरु गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिइसकेकाले आजबाट दलहरू सरकारलाई पूर्णता दिने विषयमा छलफलमा जुट्न लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले चार दिनभित्रै सरकारलाई पूर्णता दिने दाबी गरेका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा अब चाँडै सरकारलाई पूर्णता दिने बताएका थिए ।उनले सरकारलाई पूर्णता दिन समर्थन दिएका सबै दलहरूसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने बताएका थिए ।
“जोजो दलहरूसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ । सबैसँग बसेर २–४ दिनभित्रमै सबै टुंग्याउने र अनि काम गर्ने विचार छ,” उनले भनेका थिए ।उनले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आराम ढंगले सरकारले काम गर्ने बताएका थिए । नेपाली कांग्रेसले सरकारमा जाने बताइसकेको छ ।