प्रेमा नेपालीसँगै तमिल, तेलुगु र हिन्दी भाषामा प्रदर्शन हुने


नेपाली चलचित्र ‘प्रेमा’लाई हिन्दी, तमिल र तेलुगु भाषामासमेत प्रदर्शन गरिने भएको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक गोविन्दसिंह भण्डारीले नेपालीबाहेक अन्य भाषालाई ‘ओभर दी टप’ अर्थात् ओटिटीका माध्यमले दर्शकमा पुर्‍याउने जानकारी दिए।

‘मैले तेलुगु चलचित्रमा काम गरेको छु। त्यहाँका दर्शकलाई लक्षित गर्दै स्वरांकन गरिएको छ। यद्यपि नेपालमा भने नेपाली भाषामा मात्र प्रदर्शन हुनेछ’, निर्देशक भण्डारीले भने, ‘हामीले अन्य दर्शक थप्ने हो भने स्वरांकनको विकल्प नै छैन। यसले ओटिटीमा स्थान पाएमा अन्य चलचित्रलाई समेत सजिलो हुनेछ।’ उनले ‘रणवीर’ चलचित्रमार्फत् निर्देशनमा सुरुआत गरेका थिए। पहलो चलचित्र द्वन्द्वप्रधान भए पनि दोस्रो प्रेमकथामा आधारित छ।

निर्देशक भण्डारीले भने, ‘दर्शकलाई फरक स्वाद दिउँ भनेर प्रेम कथानक विधा रोजेको हुँ। यसमा द्वन्द्व छ तर प्रेमको। यसपछि केही समय म यस्तो चलचित्र निर्देशन गर्दिनँ।’ गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘महापुरूष’मार्फत् दर्शकमाझ स्थापित भएका अभिनेता अरुण क्षेत्रीले कथावस्तु सुन्दर रहेको बताए। त्रिकोणात्मक सम्बन्धलाई चित्रण गरिएको चलचित्रलाई काठमाडौं, धनगढी र कर्णालीमा छायांकन गरिएको छ। यसमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियालगायतले अभिनय गरेका छन्। चैत १७ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘प्रेमा’ लाई उपत्यकामा जिजीए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *